काठमाडौं। तमोर करिडोर अन्तिम चरणमा पुगेको छ। ०६६ सालबाट सुरु भएको धनकुटाको मूलघाट हुँदै ओलाङचुङगोला जाने तमोर करिडोरको ट्रयाक निर्माणकार्य अन्तिम चरणमा पुगेको हो।
धनकुटाको साँगुरीगढी गाउँपालिका–२ मा रहेको मूलघाट हुँदै पाँचथरको लुबुघाट, माझीटार, ताप्लेजुङ हुँदै ओलाङचुङगोलाबाट नेपाल र चीनको सिमाना तिप्तला भञ्ज्याङसम्मको सडकका लागि ट्रयाक खोल्ने कार्य निरन्तर अगाडी बढेको छ।
०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका वेला एक करोड ५० लाख बजेट छुट्याएर सडक डिभिजन कार्यालय धनकुटाले तमोर करिडोरको विस्तृत सर्भे सुरु गरेको थियो। अहिले मूलघाटदेखि ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्मको सडक निर्माण आयोजना ताप्लेजुङ– ओलाङचुङगोला सडक योजना ताप्लेजुङले हेर्दै आएको छ।
उक्त सडक मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ। तमोर करिडोर सडक धनकुटाको मूलघाटदेखि ओलाङचुङगोलासम्म एक सय ९१ किलोमिटर छ भने विराटनगरमा रहेको रानी भन्सारदेखि चीनको सिमाना ओलाङचुङगोलाको तिप्ताला पुग्न तीन सय १० किलोमिटर रहेको सूचना अधिकारी माधव पौडेलले जानकारी दिए।
मध्यपहाडी आयोजना पूर्वीखण्डले हेर्दै आएको सडकमध्ये एक सय ४० किलोमिटर सडकको चौडा निर्माण गरी ग्राभेल गर्ने काम भइरहेको छ। बाँकी सडक निर्माणका लागि पनि टेन्डर आह्वान गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ।
तमोर करिडोरलाई सुरुमा मूलघाटदेखि ओलाङचुङगोलासम्म जोड्ने लक्ष्यका साथ अगाडि बढाएको थियो। अहिले त्यसलाई विस्तार गरेर मूलघाटबाट छिन्ताङको त्रिवेणी हुँदै अरुण पार गरेर दूधकोसीको किनारैकिनार उदयपुरको घुर्मी जोड्ने लक्ष्य राखिएको छ। जसले गर्दा पूर्वी पहाडी ७ जिल्लाालाई तमोर करिडोरले जोड्नेछ।