काठमाडौं। पोखराको चिप्लेढुङ्गा सडक पचास वर्ष अगाडि र आज। पचास वर्ष अगाडिको तस्विरमा देखिएको एक मात्र घर त्यसबेलाको प्रख्यात होटल मन्दार हो । २०३० सालमा खुलेको मन्दार होटल त्यो बेलाको भव्य होटल थियो। २२ वटा कोठा भएको सो होटल बनाउन त्यो बेला नै ३ लाख खर्च भएको थियो । सो होटल भित्र पर्यटकलाई नेपाली लोक संस्कृति प्रदर्शन गर्ने उद्धेश्यले सोरठी लोकू नाम दिएर मञ्च पनि बनाइएको थियो । साथै सो होटलमा पोखरामा पहिलो पटक सोलर प्यानल राखेर कोठा कोठामा तातो पानीको ब्यबस्था समेत गरिएको थियो । भारतीय पर्यटक लक्षित सो होटलमा तन्दुरी रोटी लगायत भारतीय खानाहरुको समेत ब्यबस्था थियो । सो रेष्टुरेन्टमा राजपरिवारले समेत खाना खान पुगेका थिए ।
त्यस होटलका सञ्चालक कृष्ण आचार्य आज पनि नेपालकै प्रमुख ब्यबसायी र उद्योगीका रुपमा गनिन्छन् भर्खरै पृथ्वी राजमार्ग तैयार हुँदा २०२९ सालमा नै दुईवटा बस किनेर काठमाडौं पोखराको बस सेवाको शुरुवात गरेका थिए । पछि पृथ्वी राजमार्ग बस सञ्चालक समिति बनेपछि अध्यक्ष समेत बने ।
होटल ब्यबसायमा केही वर्ष रमाएका वहाँ पछि साथीहरूसंग मिलेर उद्योगी बने । रारा चाउचाउको उत्पादक गण्डकी नुडल्सका प्रवन्ध निर्देशक बने । वहाँको लगानी आरबि कम्प्लेक्स, किस्ट हस्पिटल, डिस होम तथा विभिन्न हाइड्रोपावरमा पनि रहेको छ ।
राजनीतिमा समेत लागेका वहाँ नेकपा माओवादी तर्फबाट सांसद पनि बन्नुभएको थियो । कुनैबेला वहाँका बुबा ब्रिटिस गोर्खा, सेकेण्ड जिआर, हङकङमा पण्डितका रुपमा कार्यरत हुनुहुन्थ्यो। सुनिल उलकको फेसबुक पेजबाट