काठमाडौं। काठमाडौं महानगरपालिका–११ वसन्तनगरमा निर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको उद्घाटन गरिएको छ। आज उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले उक्त पार्कको उद्घाटन गरेका हुन्।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको बजेटमा निर्माण गरिएको पार्कको सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले गर्ने भएको छ।
पार्कमा नेवारी मौलिक पहिचान झल्काउने फाल्चा समेत निर्माण गरिएको छ। शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने बताइएको छ।