म्याग्दी। मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्त भएको छ। उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक १८ वर्षपछि कालोपत्र भएको हो।
सडक कालोपत्र नहुँदा विगतका वर्षहरुमा बर्खामा हिलो र हिउँदमा धुलो खेप्नुपर्ने स्थानीयले यो बर्खामा भने हिलोमुक्त भएर बस्न पाएका छन्।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६५ लाख बजेट विनियोजन गरेर सडक कालोपत्र गरेको हो।
गत पुसमा ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले २५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र सय मिटरमा पक्की नाली निर्माण गरेको छ।