काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन योजना बनाउने बताएकी छन्।
महानगरपालिकाको ‘१०३ औँ स्थापना दिवस’ को अवसरमा मन्त्री भुसालले ललितपुरलाई पर्यटकीय नगरका रुपमा चिनाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताएकी हुन्।
उनले पुल्चोक क्षेत्रसँगै विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताइन। मन्त्री भुसालले भनिन, “महानगरपालिकामा कसरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ। यहाँ रहेका मूर्त तथा अमूर्त सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न सफल भए नमूना नगर हुनेछ।” महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उनले जानकारी दिइन्।
ललितपुर क्षेत्र नं ३ का प्रदेशसभा सदस्य राजकाजी महर्जनले महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्न आफूहरु लागि परेको बताए।महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि यहाँका ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराए ।