काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु रहेको बताएका छन्। बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्ने बताएका हुन्।
मन्त्री यादवले भने, “पानी जीवनका लागि नभई नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन। त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ।”
मन्त्री यादवले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन् समस्या आउन थालेको समेत बताएका छन्।
उनले मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउन छोडेको बताए। पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक रहेको समेत मन्त्री यादवले बताए।