काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एक महिना सडक सञ्जाल बन्द गरेर अध्ययन गर्नुपर्ने बताएका छन्। सांसद गौतमले बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
उनले नेपालका नदी छेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेको समेत बताए। गौतमले एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई निर्माण गरेर मात्र चलाउनुपर्ने सुझाव दिएका छन्।
उनले भने, ‘नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिक धेरै मरिरहेका छन्। नेपालका नदी छेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन्। कुनैपनि समस्या चाहे भौगर्भिक होस्, चाहे मानवीय होस् त्यसको कार्यकारण सम्बन्ध हुन्छ। बिना कारण कुनै घटना हुँदैनन्। कारण पत्ता लगाउन घटनाको सबै कोणबाट विश्लेषण गर्न सक्नुपर्छ।’