जुम्ला। कर्णाली प्रदेशको विकट जिल्ला जुम्लामा अझै पनि प्राय स्थानीय तहमा विद्युतीय सेवा पुगेको छैन। अधिकांश जिल्लाबासी अझै पनि टुकीको भरमा अँध्यारो छेल्ने गर्छन्।
कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांक अनुसार जुम्लाका ५.६४ प्रतिशत घरधुरीले मात्र विद्युत सेवा उपभोग गर्न पाएका छन्। जुम्लाको चन्दननाथ नगरपालिकामा २० प्रतिशत जनसंख्यामा विद्युत पुगेको छ। त्यस्तै सिन्जा गाउँपालिकाबासीमध्ये ६.७६ प्रतिशतले यो सेवा उपभोग गर्न पाएका छन्।
जिल्लाको हिमा गाउँपालिकाका ०.८२ प्रतिशत, तिलामा २.३८ प्रतिशत, गुठीचौर गाउँपालिकामा ३.११ प्रतिशत, तातोपानी गाउँपालिकामा १.१९ प्रतिशत र पातारसी गाउँपालिकामा १.२३ प्रतिशत जनसंख्यामा विद्युत पुगेको ऊर्जा मन्त्रालयको तथ्यांक छ।
जुम्लाको कनका सुन्दरी गाउँपालिमामा भने विदुत पहुँचमा पुगेको छैन। समग्र रूपमा हिसाब गर्दा ५.६४ प्रतिशत घरधुरीमा मात्र विद्युतीय ऊर्जा पुगेको देखिएको छ।