काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम तीव्र गतिमा नभए ठेक्का तोड्ने चेतावनी दिएका छन्।
बुटवलबाट सडकको प्रगति हेर्दै नारायणघाट आइपुगेका मन्त्री दाहालले भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै अब पनि काममा लापरबाही भए सरकार ठेक्का तोड्न बाध्य हुने बताएका हुन्।
उनले अब उक्त सडक निर्माणका लागि समय अवधि कुनै पनि हालतमा थप नहुने समेत बताए।
मन्त्री दाहालले भने, ‘सरकारको तर्फबाट कुनै समस्या छैन। निर्माण व्यवसायीले भुक्तानी पाइरहेका छन्। हामीसँग पैसा पनि छ। तर काम ढिला भइरहेको छ। त्यसलाई छिटो सम्पन्न गर्न हामीले विभिन्न चरणका छलफलहरू गरेका छौं। हाइ लेवलमा पनि वार्ता भएको छ। तपाईंहरूले ठेक्का लिएको हो निर्माणा व्यवसायीको तर्फबाट, त्यो जिम्मेवारी पूरा गर्नुपर्छ भनेर पटक–पटक सम्झाएका छौं।’