पर्वत। पर्वत जिल्लामा डिमुवा–तिलाहार–थामर्जुङ सडक स्तरोन्नति गरिएको छ। २५ लाख लागतमा मोदी गाउँपालिकाको डिमुवा–तिलाहार–थामर्जुङ सडकको दुई सय मिटर ढलान गरिएको हो।
सडक ढलानका लागि स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको १० लाख र गाउँपालिकाको सहलगानी कोषबाट १५ लाख रकम निकालिएको थियो।
गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य रहेकामा गाउँ जाने सडकमा पनि समस्या भएको स्थानीयको गुनासो आएपछि साझेदारीमा सडक ढलान गरेको पालिकाले जनाएको छ। सडक ढलान भएसँगै वर्खाभरी हिलाे बाटाे हिँड्नु पर्ने बाध्यता हटेकाे स्थानियकाे भनाइ छ।
सडक स्तराेन्नतिका लागि पटक पटक सम्बन्धित निकायहरूमा पहलका लागि माग गर्दा पनि सुनुवाइ नभएपछि देउसीभैलाे खेलेर रकम जम्मा गरी ढलान गरेकाे उनीहरूकाे भनाइ छ।