काठमाडौं। खोटाङ जिल्लाको साकेला गाउँपालिका–३ मा बोराखोलामा काठेपुल निर्माण गरिएको छ। स्थानीय मखमले र तावाभन्ज्याङका ४० जना युवाहरूले तीन दिन लगाएर आधुनिक प्रकारको काठेपुल निर्माण गरेका हुन्।
१२ मिटर लामो पुल निर्माणका लागि एक लाख ५० हजार खर्च लागेको स्थानीयले बताएका छन्। पुल निर्माण भएसँगै वर्खामा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
पुल निर्माणका लागि सम्बन्धित निकायबाट कुनै चासो नदेखाएपछि स्थानीय युवाहरुले आफैं श्रमदान गरेर र खर्च उठाएर पुल बनाएका हुन्।