काठमाडौं। सरकारले देशका विभिन्न स्थानमा निर्माण भइरहेका प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
सरकारले लहान सुखिपुर एक सय ३२ केभी प्रसारण लाइन आयोजना तथा रुपनी बोदेबरसाइन एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने करिब आठ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
त्यसैगरी नेपालगञ्ज नानपारा एक सय ३२ केभी प्रसारण लाइन आयोजनालाई बाँके जिल्लामा प्रसारण लाइनको टावर प्याड निर्माणका लागि करिब दुई बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको छ ।
सरकारले भुमही हकोइ एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणका लागि नवलपरासी जिल्लामा राष्ट्रिय वन क्षेत्रको १२ दशमलव ६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए।