काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्मका सबै हवाई उडानको छानबिन गर्न उच्च स्तरिय समिति बनाउनुपर्ने बताएका छन्।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवङ्गत भएकाहरूको सम्झना तथा ४५औँ दिनको पुण्य तिथिको सन्दर्भमा आयोजित एक अन्तरक्रियामा बोल्दै मन्त्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
उनले हालसम्मका हवाइ दुर्घटनाबारे विगतमा अलगअलग अध्ययन र अनुसन्धान भएकाले सबैलाई कम्पायल गरेर, एकीकृत गरेर एक ठाउँमा राख्नु पर्ने समेत बताए।
मन्त्री पाण्डेले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको भन्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको जानकारी समेत दिए। उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको उल्लेख गर्दै उक्त विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गर्ने विश्वास समेत दिलाए।