काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकमा कामको गति बढाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री पाण्डेले सरोकारवालालाई आइतबार कार्यकक्षमै बोलाएर प्रगति विवरण माग्दै काम चाँडै गर्न निर्देशन दिएका हुन्।
उनले सडक निर्माणमा कुनै समस्या भए प्रदेश सरकारले सहजीकरण गर्ने तर काममा ढिलाइ हुन नहुने बताए। छलफलमा निर्माण कम्पनीले अबको १५ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ।
छलफलबाट सडक क्षेत्रका बिजुलीका पोल विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर सवारी सञ्चालन सहज बनाउन आयोजनाले काम गर्ने निष्कर्ष समेत निकालिएको छ।
छलफलबाट दोहोरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी नघट्ने गरी निर्माण सामग्रीमा एकमुष्ट रोयल्टी लिने निर्णय समेत भएको बताइएको छ।