काठमाडौं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईको बुद्वको मूर्ति निर्माण गरिने भएको छ। सो मूर्तिको शनिबार एमाले नेता शेरबहादुर तामाङले शिलान्यास गरेका हुन्। पाँचपोखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागको ५ करोड लागतमा सो मूर्ति स्थापना गर्न लागिएको हो। एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने भएका छन्।
ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाँचपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडा लगायत पर्यटकीय स्थलको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यले बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। सो मूर्ति निर्माण सुरु भएको दुई वर्षभित्रमा सम्पन्न गरिने योजना रहेको छ। ढुंगामा मूर्ति कोर्न मात्रै २ करोड लाग्ने अनुमान गरिएको छ। यसैगरी ८० फिटको मूर्ति वरपर कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहने जनाइएको छ।