फाइल तस्बिर
काठमाडौं। सांसद ठाकुर गैरेले स्थानीय एकछिन आक्रोशित हुँदैमा सडक कालोपत्र नहुने भन्दै स्थानीयलाई नै प्रश्न गरेका छन्। धुलिखेल–खावा सडकखण्ड अवलोकन गर्न पुगेको पूर्वाधार विकास समितिको टोलीमाथि स्थानीय आक्रोशित बनेपछि सांसद गैरेले उल्टै प्रश्न गरेका हुन्।
उनले भने, ‘तपाईंहरूले एकछिन् कराउँदैमा बाटो कालोपत्रे हुन्छ ?’ उनले आफूहरु कुनै निर्देशन जारी गर्न वा यति समयमा निर्माण सम्पन्न हुन्छ भनेर स्थानीयलाई विश्वस्त दिलाउन नआएको बताए।
सांसद गैरेले समितिले औपचारीक रूपमा सरकारलाई निर्देशन दिने भन्दै स्थानीयलाई भने कुनै आश्वसन दिन नसक्ने बताए।
स्थानीयले समयमै सडक निर्माणको काम नहुँदा संघीय राजधानी काठमाडौंबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत जिल्ला जाने यात्रुहरूले दुख पाउने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
निमार्ण व्यवसायीले धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक विस्तारको काम समयमै नसक्दा सडक जीर्ण अवस्थामा छ।