पश्चिम नवलपरासी। हुलाकी सडकअन्तर्गत गोपीगञ्ज–बेलाटारी सडकको काम तत्काल अघि बढाउन माग गर्दै जनप्रतिनिधिसहित धर्ना बसेका छन्। आइतबार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयअगाडि दिएका हुन्।
सडक निर्माणका लागि खनिएका खाडलले हिउँदमा धूलो र वर्षामा हिलो हुने, दैनिकजसो सवारी दुर्घटना हुने लगायतका समस्या भएकाले तत्काल सडक निर्माण हुनुपर्ने उनीहरुको माग छ।
निर्माण कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक–पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल पहलकदमी गर्नुपर्ने समेत उनीहरुको माग छ।
यसअघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले संघ सरकारलाई पत्राचार गर्दै १५ दिनभित्र काम अगाडि नबढाएमा धर्ना र आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।