फाइल तस्बिर
खोटाङ। खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सडक साकेला गाउँपालिकाले मर्मत गरेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मर्मत गर्ने छाँटकाँट नदेखिएपछि आफ्ना नागरिकको समेत समस्यालाई ध्यानमा राख्दै सडक मर्मत गरेको साकेला गाउँपालिकाले जनाएको छ।
साकेला गाउँपालिकाबासीले सदरमुकाम दिक्तेल आउजाउ गर्न प्रयोग गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ५ नम्बर वडाको सडक बिग्रिएर हिँड्नै समस्या भएपछि मर्मत गरेको गाउँपालिकाले जनाएको छ।
दिक्तेलबजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बाराहापोखरी, जन्तेढुङ्गा गाउँपालिका जाने तथा साकेलाबाट दिक्तेल हुँदै काठमाडौंसम्म जान उक्त सडकको प्रयोग हुने गरेको छ।
यस सडकको लफ्याङमा हिलोका कारण गाडी फस्ने, चिप्लने, भाँसिने समस्याले हैरान बनाएपछि साकेला गाउँपालिकाले सडक मर्मत गरेको हो।