काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि विद्युत्को खपत बढाउनुपर्ने बताएकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले अहिले नेपालमा सरकारले विद्युत् महसुल घटाएको भन्दै त्यसको उपयोग गरेर राष्ट्रिय अर्थतन्त्र मबजुद बनाउन र व्यापार घाटा कम गर्न उनले आह्वान गरेकी हुन्।
उनले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि व्यवसायीलाई आग्रह गरेकी छिन्। भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस्। अझ बढी यातायातको क्षेत्रमा विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाऔं। जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ। सस्तो विद्युत् प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ। यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिने उनले बताइन्।
मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाउन आग्रह गरेकी छिन्। उनले सरकारले विद्युत्को खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताइन्। ‘आफ्नै देशको जलस्रोत हो। यसबाट उत्पादित भएको बिजुली सस्तो हुनुपर्छ भनेर मैले महसुल पनि घटाएको जानकारी गराउँदछु। ऊर्जाको क्षेत्रमा विद्युत्को उपयोग गर्नुस् भनेर अपील गर्न चाहन्छु,’ उनले भनिन्।