सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको लार्के र इन्द्रावती नदीमाथि झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिको चिण्डे र याङ्ग्रीको पुल पुनःनिर्माण गरिएको हो।
गत असार अन्तिममा आएको बाढीले क्षति पुर्याएको ती पुल गाउँपालिकाकै स्रोतबाट पुनःनिर्माण गरिएको हो। पुल निर्माणका लागि सङ्घ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पालिकास्तरबाटै पुल निर्माण गरेको गाउँपालिकाले जनाएको छ।
गत असार ३० को बाढीले यहाँका तीन वटा पुलमा क्षति पुगेको थियो। पालिकाले तीन क्षतिग्रस्त पुलमध्ये दुई वटाको पुनर्निर्माण गरेको हो।
पुल पुनर्निर्माण भएसँगै यहाँका विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई सहज भएको छ।