काठमाडौं। जनता समाजवादी पार्टी नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमनले सरकारले बनाउने हरेक पुल पुलेसा, सडक, अस्पताल, एयरपोर्टलगायतका भौतिक पूर्वाधार निर्माण गर्दा सहिदको नाम राख्न आग्रह गरेका छन्।
मधेस आन्दोलन क्रममा २०७२ भदौ २५ गते सहादत प्राप्त गरेका तीन जना सहिदको सम्झनामा सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश सांसद सुमनले यस्तो आग्रह गरेका हुन्।
उनले भौतिक पूर्वाधारको नाम सहिदको नामबाट राख्यो भने त्यसलाई पुस्तौँसम्म मान्छेले सम्झिने भएकाले सरकारले कुनै पनि निर्माण कार्य गर्दा सहिदको नामबाट गर्न आग्रह गरे।
उनले कुनै सहिदका छोरा छोरी पढ्न पाएको छैन भने त्यसलाई पढाउने र कुनै सहिद परिवारको घरमा चुल्हो बलेको छैन भने त्यो चुल्हो बाल्ने जिम्मेवारी आफूहरुको भएको समेत बताए।