काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा क्षेत्रीय सहयोगको अपेक्षा राखेको बताएका छन्।
भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकार्ओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले प्रभावकारी रुपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेको बताएका हुन्।
उनले भने, ‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि नेपालले तपाईंहरु सबैको र विशेष गरी छिमेकी देशहरुको बलियो सहयोगको अपेक्षा गरेको छ।’
मन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह समेत गरेका छन्।