काठमाडौं। भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागले देशैभरका मुख्य मुख्य सडकका खाल्डाखुल्डी मर्मत गर्न सुरु गरेको छ। दशैंतिहार लगायतका चाडपर्वलाई खाल्डाखुल्डीरहित बनाउन सडक विभागले देशैभरका सडक मर्मत गर्न सुरु गरेको हो।
अहिले देशैभरि ५ हजार किलोमिटर सडक मर्मतको क्रममा छन् भने दशैंअघि नै सबै मर्मत कार्य पूरा गर्ने विभागले जनाएको छ।
सडक मर्मतको पहिलो चरणको काम असोज पहिलो साताभित्र सक्न सडक विभागले मातहतका निकायलाई निर्देशन समेत दिएको छ।
चाडपर्वमा सहज यात्रा बनाउने उद्देश्यले खाल्डाखुल्डी पुर्नका लागि मन्त्रालयको निर्देशनमा विभागले काम अघि बढाएको हो।
खाल्डाखुल्डी पुर्नका लागि करिब ५ अर्ब ६२ करोड रुपैयाँ बजेट छुट्टाइएको समेत मन्त्रालयले जनाएको छ।