फाइल तस्बिर
काठमाडौं। बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा अहिले विद्युतको पोल सार्ने प्रक्रिया सुरु भएको छ। सडक विस्तारका लागि अहिले विद्युतको पोल सार्ने प्रक्रिया र सडक नापजाँचको काम भइरहेको हो।
१३ अर्ब ५५ करोड लागतमा निर्माण गर्न लागिएको बुटवल–गोरुसिङ्गे सडक विस्तारअन्तर्गत भौतिक पूर्वाधारको काम भने दशैंपछि सुरु गरिने छ।
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा अन्डर पास ओभर पास निर्माण हुने आयोजनाले जनाएको छ।
सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएका छन्। सम्झौता अनुसार तीन वर्षभित्रमा निर्माण कार्य पूरा गर्नुपर्नेछ।