काठमाडौं। नुवाकोटको विदुर नगरपालिका–२ मा रहेको साततले दरबार पुनःनिर्माण गर्न सुरु गरिएको छ। २०७२ सालको महाभूकम्पले क्षति पुराएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनःनिर्माणको काम थालिएको हो।
पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनःनिर्माण तथा प्रवलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ।
२०७५ साल असार ७ गते पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिना भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
२०७६ साउनमा पहिलो पटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर २०७६ सालको माघ–फागुनमा फर्कने गरी गएका थिए। तर चिनियाँ कम्पनीका प्राविधिकहरु स्वदेश फर्के लगत्तै कोरोना महामारी सुरु भएपछि उनीहरु अहिले मात्र नेपाल आएर पुनर्निर्माणको काम अघि बढाउन थालेका हुन्।