काठमाडौं। बुटवल–नारायणगढ सडक अन्तर्गतको चोरमारा–अरुणखोला सडकखण्ड कालोपत्र गर्न सुरु गरिएको छ। चिनियाँ निर्माण कम्पनीले गत साँझ एक सूचना जारी गर्दै चोरमारा–अरुणखोला सडकखण्ड कालोपत्र गर्न सुरु गरेको जानकारी दिएको हो।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको उक्त सडकको काम गत जेठ पहिलो सातादेखि रोकिएको थियो। अघिल्लो साता महेन्द्र राजमार्गको स्थलगत निरीक्षणमा आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडक निर्माणमा लापरबाही गरे तुरुन्तै ठेक्का तोड्ने चेतावनी दिएका थिए। मन्त्री दाहालको निरीक्षण र चेतावनी पछि तुरुन्तै निर्माण कम्पनीले काम सुरु गरेको सूचना निकालेको हो।
चोरमारा अरुणखोला सडक खण्ड करिब १५ किलोमिटर छ । चोरमारादेखि दाउन्नेसम्मको करिब ३४ किलोमिटर क्षेत्रमा राजमार्ग भत्काएर छोडिएको छ । त्यहाँ खाल्डैखाल्डा र धुलाम्य सडक छ ।