काठमाडौं। मकवानपुरको भीमफेदीबाट लेखक तथा स्रष्टा गणेशलाल श्रेष्ठको प्रतिमा चोरी भएको छ। भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको लेखक श्रेष्ठको अर्ध कदको प्रतिमा गएराति चोरी भएको हो।
उक्त प्रतिमाको आज एक समारोहका बीच अनावरण गर्ने कार्यक्रम रहेको थियो। तर अनावरण कार्यक्रमको एक दिन अघि नै प्रतिमा चोरी भएपछि कार्यक्रम स्थगित भएको छ। भीमफेदी गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब १ महिना अघि नै प्रतिमा स्थापना गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्।
सो प्रतिमा कूल ५ लाख लागतमा तयार पारिएको हो। उक्त घटनाका बारेमा छानविन गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको जनाएको छ। भीमफेदी गाउँपालिकाका अध्यक्षले स्रष्टाको सम्मान स्वरुप गर्न लागिएको यस्तो महान कार्यमा अवरोध पुर्याउने जो कोही भएपनि कारवाहीको दायरामा ल्याइने बताएका छन्। उनले तत्काल अनुसन्धान गरी घटना घटाउने गिरोहलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जानकारी दिएका छन्।