काठमाडौं। कास्कीको रूपा गाउँपालिकामा रुपा रिङरोडको दोस्रो खण्ड निर्माणका लागि शिलान्यास गरिएको छ। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले रुपा रिङरोडको दोस्रो खण्ड शिलान्यास गरेका हुन्।
शिलान्यासका क्रममा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार भएकैले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको दाबी गरे। रूपा रिङरोड बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्याउने विषयमा ध्यान दिनुपर्ने समेत उनले बताए।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले यो रिङरोडको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गरे। उनले सडकमा धेरै लगानी गरेको भनेर प्रश्न आउने गरेको तर उत्पादनलाई बजारसँग जोड्दा जनताको जीवनस्तर उकासिने भएकाले सडक आवश्यक रहेको बताए।
सङ्घ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरि ४७ करोड १८ लाख ९१ हजार रूपियाँ लागतमा उक्त सडक निर्माण गर्न लागिएको हो।