काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व–पश्चिम रेलमार्ग बनाइसक्दा ४० खर्ब रुपैयाँ लाग्ने बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्ले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा रेलवे विकासको रोडम्याप’ शीर्षक अन्तरक्रियामा मन्त्री दाहालले यस्तो बताएका हुन्।
अन्तरक्रियामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका सचिव केशवकुमार सचिवले रेलवे विकासका लागि मात्र वार्षिक १२५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए।
अन्तरक्रियामा रेल विभागका पूर्वमहानिर्देशक रोहितकुमार बिसुरालले रेल विकासका लागि बजेट नै अपुग हुने गरेको बताएका छन्। उनले खर्ब रुपैयाँ लाग्ने योजनामा ५/६ अर्ब बजेट विनियोजन हुने गरेको बताए।
अर्थ मन्त्रालयका पूर्वसचिव लालशंकर घिमिरेले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९३ प्रतिशत उपभोगमा खर्च हुने र बाँकी ७ प्रतिशत बचतले ठूला परियोजनामा लगानी जुटाउन कठिन हुने बताए।
सरकारले आन्तरिक र अन्तरदेशीय रेलमार्ग सञ्जाल विस्तारका लागि आधा दर्जन परियोजनाको प्रक्रिया अघि बढाएको छ । जसमा परियोजना पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, नेपाल–भारतीय सीमा जोड्ने क्रशबोर्डर (६ ओटा लिंक) रेलमार्ग, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो रेल आयोजना र नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ एवं नेपाल–भारत जोड्ने काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्ग छन्।