चितवन। पर्यटकिय गन्तव्य सौराहामा पर्यटकको बसाई अवधि लम्ब्याउन नयाँ अवधारणा अपनाइएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर सौराहामा ‘सेभेन प्वाइन्ट टूर प्याकेज’ शुरु गरिएको हो।
सौराहामा परम्परागत जंगल तथा हात्ती सफारी तथा थारु संस्कृति बढी देखाउने गरिन्छ। यसलाई विस्तार गरी अब विभिन्न सात गन्तव्यसम्म पर्यटकलाई लैजाने गरी नयाँ अवधारणा ल्याइएको बताइएको छ।
ती सात गन्तव्यमा सौराहास्थित प्रकृति संरक्षण कोषको संग्रहालय, बछौलीको थारु संग्रहालय, चित्रसारीमा रहेको चित्रसेन बाबाको मन्दिर र जिरौनामा रहेको धर्मधाम मुख्य गन्तव्य त्यसैगरी देवघाट धाम, नारायणी तट र तीनखोले गुम्बा रहेका छन्।
पर्यटकलाई आकर्षण गर्न राष्ट्रिय प्रकृतिक संरक्षण कोषको संग्रहालयमा मरेका जनावरको अस्थिपञ्जर राखिएको छ भने थारु संग्रहालयमा थारु जातिको संस्कार र संस्कृति झल्कने वस्तुहरु राखिएको बताइएको छ।
त्यसैगरी सौहाराको प्रवेशद्धार चित्रसेन बाबाको मन्दिर यस क्षेत्रको पौराणिक मन्दिर हो। नारायणी नदी तट नारायणगढ बजारसँगै रहेको छ । यस क्षेत्रमा विभिन्न मठमन्दिर तथा खुला चौर । तीन खोले गुम्बा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको छ।
विभिन्न विशेषता भएको पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा सेभेन प्वाइन्ट रहेको पर्यटन व्यवसायीहरु बताउँछन्। यस अवधारणाले चितवनको सौराहामा पर्यटकको संख्या र बसाइ अवधि लम्बिने विश्वास राखिएको छ।