काठमाडौं। असनमा प्राचिन पुरातात्त्विक र ऐतिहासिक महत्त्वको सामाग्रीलाई सुरक्षित गर्ने उद्देश्यले उदाय् समुदायले ‘उदाय् म्युजियम’ सञ्चालनमा ल्याएको छ। नेवारलाई राष्ट्रियता बोकेको समुदायका रूपमा गौरव गरिन्छ। विभिन्न रक्त र जातको संयुक्त मिश्रण यो भाषिक समुदायमध्ये उदाय् समुदाय पनि एक हो।
पेशा र व्यवसायको आधारमा उदाय् समुदायको पनि ९ वटा थर रहेको छ। युवापुस्ता र आधुनिकीकरणले परम्परागत बिँडो थाम्ने चलन कम हुँदै गइरहेको अवस्थामा उक्त समुदायले भावी पुस्तालाई आफ्नो पितापुर्खाको गौरव जानकारी दिने उद्देश्यले हाल संग्रहालय नै सञ्चालनमा ल्याइएको छ।
काठमाडौंको मध्यभागमा रहेको असन बजार नेपाल मण्डलको एक प्राचिन बजार हो। यस बजारले आफ्नो पुरानो मौलिकता गुमाएको भएतापनि आर्थिक कारोबारको केन्द्रका रूपमा बजारको विशिष्टता हाल पनि कायमै छ। सो बजारमा अहिले पनि हिङदेखि हर्दीसम्म पाइन्छ। प्राचिनकालमा तिब्बत र भारतको व्यापारिक केन्द्र रहेको उक्त बजारमा धेरै जसो तिब्बतमा व्यापार व्यवसाय गर्ने नेवारहरूको बसोबास रहेको छ।
बौद्ध, शैव, शाक्त लगागतका धर्ममा सद्भाव राख्ने उक्त समुदायको भाषा नेपाल रहेको र अन्य समुदायमा जीवित देवीकुमारीको पुजा गरेजस्तै यस समुदायमा कुमारको पनि पूजा र नाचसमेत रहेको छ। ‘कुम्हो प्याखँ’ भनिने यो नाच हाल लोप भइसकेको छ। यस समुदायका युवा पुस्ता परम्परागत पेशालाई छाडेर आधुनिक पेशातिर उन्मुख भएकाले भावी पुस्तालाई आफनो पेशा, कला संस्कृति र रहनसहनको जानकारी दिने उदेश्यले ‘उदाय् म्युजियम’ सञ्चालनमा ल्याएको हो।
असनमा सञ्चालित संग्रहालयमा उदाय् समुदायको विभिन्न पक्ष झल्कने पुरातात्विक र ऐतिहासिक महत्वका सामाग्री र सरसामान राखिएको छ। भविष्यमा अन्तराष्ट्रिय स्तरको संग्रहालय बनाउने तयारी भइरहेको म्यूजियमका संयोजक सुमन कमल तुलाधरले जानकारी दिएका छन्। आफ्नो पुर्खाको गौरवमय इतिहास स–सम्मान भावी पुस्तालाई सुरक्षित राख्ने सो समुदायको प्रयास उल्लोखनिय रहेको र अन्य समुदायले पनि यस्ता सत्कर्मको सिको गर्नु आवश्यक रहेको जनाइएको छ।