काठमाडौं। रुपन्देहीको रोहिणी गाउँपालिका–४, सेमरहवास्थित भैरहवा–परासी सडकखण्डमा मर्मत कार्य सुरु भएको छ। निर्माण व्यवसायीले अलपत्र छोडेको सडक मर्मतका लागि यस क्षेत्रका जनप्रतिनिधिले धर्ना दिएपछि काम सुरु भएको हो।
गत शुक्रबार प्रदेश सभा सदस्य आशिष चौधरी, रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवसहित स्थानीयले सडकमै धर्ना दिएका थिए। जनप्रतिनिधिको धर्नापछि सडक डिभिजन कार्यालय बुटवलले निर्माण व्यवसायीलाई सडक मर्मत स्थलमै बोलाएर १० दिनभित्र काम सक्नुपर्ने कागज गराएपछि अहिले धमाधम काम भइरहेको छ।
६८ लाखमा ३३० मिटर सडक मर्मतका लागि निर्माण कम्पनी ओमकार बिल्डर्ससँग दुई वर्षअघि सम्झौता भएको थियो। सम्झौतापछि निर्माण व्यवसायीले सडक भत्काएर छोडेको थियो। भत्काएर अलपत्र पारेको सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले स्थानीयले हैरानी खेप्दै आएका छन्।