काठमाडौं। मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारको भएको मुद्दामा विशेष अदालतले दोषी ठहर भएका पूर्वसचिवसहित ४ जनालाई ८ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतले सोमबार दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो।
अदालतले मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष रहेका पूर्वसचिव गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिबाना १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ निर्धारण गरेको छ ।
अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रुपैयाँ जरिबाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रुपैयाँ जरिबाना रहेको छ ।
अदालतले कम्पनीमा ईपीआईआईएसएलाई मतियार ठहर गर्दै जरिबाना छ करोड २१ लाख ९३ हजार पाँच सय ९६ रुपैयाँ रहेको छ । बीईटीएसलाई मतियार ठहर गर्दै जरिबाना दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रुपैयाँ गरेको छ भने सीएमसी डी राभेनालाई २६ करोड ११ लाख छ हजार नौ सय ९१ रुपैयाँ जरिबाना गरेको छ ।