काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यसअघि तत्काल कालोपत्रे गर्नु भनेर निर्देशन दिएको सडकको अवस्था बारेमा जानकारी लिएका छन्। मन्त्री पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका हुन्।
मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए।
सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए। त्यसलगत्तै सडकको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी समेत थालिएको थियो।
मन्त्री पौडेलले उक्त सडकको पुनः निरीक्षण गर्दै काम के कति अगाडी बढ्यो भनेर जानकारी लिएका हुन्।