काठमाडौं। नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक २७ लाख लागतमा मर्मत गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१० किलुमा गत असार २० गते पहिरोले भासिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको २५ लाख र दुई लाख २५ हजार रुपैयाँ स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार रुपैयाँ लगानीमा सडक मर्मत गरिएको छ।
सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो। घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो। भिरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर अहिले सडक मर्मत गरी सञ्चालनमा ल्याइएको हो।