फाइल तस्बिर
काठमाडौं। तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ। कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर राखेर सेवा सुरु गरिएको हो।
सञ्चार सेवा सुरु भएसँगै यस क्षेत्रका स्थानीयका साथै सुरक्षाकर्मी, भन्सार कर्मचारी, व्यापारी सबैलाई सहज भएको छ।
नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवन निर्माण गरिएको थियो। गत वैशाखमा यहाँ केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरिएको थियो। एकपछि अर्को सेवा सुविधा विस्तार हुँदै जाँदा यस क्षेत्रका स्थानीय, कर्मचारी र यहाँ पुग्ने व्यापारीहरु समेत खुसी भएका छन्।