रुपन्देही। जिल्लाको तिनाउ र दानव नदी किनारमा निर्माण गर्न लागिएको सडकमा स्थानीयले अवरोध गरेका छन्।
तिनाउ दानव करिडोर पीडित संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभएसम्म सडक निर्माण कार्य अघि बढाउन नदिने बताएको हो।
कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका झण्डै एक हजार परिवारले आफूहरुको व्यवस्थापन नगरी सडक निर्माणको काम थालेको भन्दै विरोध जनाएका हुन्।
संघर्ष समितिले करिडोरबाट क्षति हुने घर जग्गाधनीलाई उचित ठाउँमा स्थानान्तरण र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरेर मात्र सडक निर्माणको काम अघि बढाउन माग गरेको छ।
२० हजार घरधुरी रहेको करिडोर क्षेत्रका मानिससँग कुनै विवाद नभएको भिन बुटवल उपमहानगरपालिकाले सडक डिभिजनलाई झूठो पत्र पठाएर ठेक्का लगाएको समितिले बताएको छ।
स्थानीयका माग सम्बोधन नगरेसम्म कोरिडोर बन्न नदिने भन्दै समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ। जसमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसहित राजनितिक दल र स्थानिय जनप्रतिनिधिलाई ज्ञापनपत्र बुझाउने, आमसभा,धर्ना र विरोध प्रदर्शन लगायतका कार्यक्रम रहेको समितिले जनाएको छ।