काठमाडौं। बुद्ध एयरबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ। बुद्ध एयरका जहाजमा पटक पटक समस्या आएपछि वरिष्ठ क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
पछिल्लो समय उडानका क्रममा बुद्धको बिचक्राट सिरिजको जहाजको इन्जिन फेल भएपछि प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले विस्तृत अनुसन्धान गर्न लागको हो।
घटना छानबिनसँगै तीन महिनायता भएको प्रत्येक घटनाको विस्तृत जानकारी पेश गर्न एयरलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले गठन गरेको तीन सदस्यीय छानबिन टोलीमा क्याप्टेन निरौला, इन्जिनियरहरु रितेश पन्त र सम्राट प्रधान छन्।
गत बिहीबार भरतपुर–काठमाडौं उडानका क्रममा देब्रेपट्टिको इन्जिन फेल भएको बुद्धको नाइन एन–एइइ कलसाइनको जहाजलाई प्राधिकरणले ग्राउण्डेड गरिसकेको छ। जहाजमा प्राविधिक समस्या आएपछि भरतपुर विमानस्थल करिब एक घण्टा अवरुद्ध भएको थियो।