काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा हवाई भाडा नबढाउन आग्रह गरेका छन्। उनले निजी हवाई सेवा प्रदायक कम्पनीहरूसँग हवाई भाडा नबढाउन आग्रह गरेका हुन्।
ओलीले आज सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै भाडा सहुलियत गर्न वा यसअघिकै भाडा दर कायम गर्न कम्पनीहरूसँग अनुरोध गरेका छन्।
उनी लेख्छन् ‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।’
नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुका लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको पनि उनले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्। उनि लेख्छन् 'हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ।’