काठमाडौं। निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अनौपचारिक रुपमा आवतजावत सुरु गरिएको छ। नागढुङ्गा नजिकै चन्द्रागिरि नगरपालिका–२ मा त्रिभुवन राजपथको झ्याप्लेखोलामा गएको ठूलो पहिरोका कारण सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुलाई निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट आवतजावत गराइएको हो।
शनिबार अलपत्र परेका यात्रुलाई आवतजावत गराइएको सुरुङमार्गबाट अहिले बस, एम्बुलेन्स तथा अत्यावश्यक सामान बोकेका गाडी आवतजावत गरिरहेका छन् । सुरुङमार्गभित्र सुरक्षाको पूर्ण व्यवस्था गरेर पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि मानवीय संवेदनशीलताका आधारमा यात्रुलाई सुरुङमार्ग भएर ओहोरदोहोर गर्न दिएको बताइएको छ।
शनिबार र आइतबार गरी पाँच हजारभन्दा बढी मानिसलाई सुरुङमार्गबाट पार गराइएको छ । यात्रुलाई चन्द्रागिरि नगरपालिकाले उपलब्ध गराइएका दुई वटा बसमा राखेर ओहोरदोहोर गराइएको हो ।
निर्माणाधिन सुरुङमार्गको पूरा काम सक्न भने अझै एक वर्ष लाग्ने अनुमान छ ।