काठमाडौं। बाढीपहिरोबाट आवास गुमाएकालाई सात दिनभित्र अस्थायी आवसा बनाउन पहिलो किस्ता उपलब्ध गराइने भएको छ। सोमबार विपद प्राधिकरण कार्यालयमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरेर तीनदिन भित्र पहिलो किस्ता उपलब्ध गराउने निर्णय गरेको हो।
अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड २०८१ अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ र अन्तिम किस्ता २५ हजार रुपैयाँ दिइनेछ।
बैठकले अवरूद्ध रहेका सडक मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ। राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यथाशीघ्र सडकहरू सञ्चालनमा ल्याउने व्यवस्था गर्ने निर्णय गरेको हो।
बैठकबाट विपद प्रभावितहरूको खोज, उद्धार राहत तथा पुनर्स्थापनाका लागि मानवीय साहायत परिचालन गर्न नेपालस्थित संयुक्त राष्ट्र संघीय निकाय रेडक्रस लगायतका साझेदार संस्थाहरूबाट सम्बन्धित क्लष्टर लिडको निर्णय बमोजिम आवश्यकताअनुसार सहायता परिचालन गर्ने निर्णय भएको छ।