सर्लाही। सर्लाहीको मलङ्गवामा नहरमा ट्याक्टर खस्दा एक बालकको मृत्यु भएको छ। बिहीबार बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँदा नहरमा माछा मारिरहेका बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मुसैलीका दिनेश साहका छोरा १२ वर्षका रवि साह रहेका छन्। ट्याक्टर नहरमा माछा मारिरहेका साहसहितका बालकहरु माथि खसेको प्रहरीले जनाएको छ।
घटनामा जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।