धनगढी। धनगढी विमानस्थलमा स्थानीयले नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्। विमानस्थलका नाममा ‘अनधिकृत’ रुपले जग्गा रेखाङ्कन गरिएको भन्दै सोमबार स्थानियले धनगढी विमानस्थलमा विरोध प्रदर्शन गरेका हुन्।
विमानस्थलको दक्षिण र पूर्वपट्टीको करीब एक किलोमिटर क्षेत्रमा जग्गाधनीलाई जानकारी नगराइ सिमेन्टका पिलर गाडिएपछि स्थानीय आक्रोशित बनेका हुन्।
उनीहरुले विमानस्थल कार्यालय र स्थानीय प्रशासनको जानकारीमा पनि नरहेको दाबी गरिएको अवस्थामा कसले र किन आफूूहरुको जग्गामा रेखाङ्कन गरेको हो त्यसको छानबिन हुनुपर्ने माग राखेका छन्। स्थानीयले विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टलाई भेटेर अवैध रुपमा रेखाङ्कन गर्ने व्यक्ति पत्ता लगाएर कारबाही गर्न माग गरेका छन्।
प्रमुख भट्टले उक्त विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताउँदै अहिलेसम्म जग्गाको रेखाङ्कन गर्ने व्यक्तिको पहिचान नभएको बताए।
गत शनिबार विमानस्थल कार्यालयको दक्षिण, पूूर्वतर्फको जग्गा अधिग्रहणका लागि भन्दै रेखाङ्कन गरेर पिलर हालिएको छ। तर यस विषयमा विमानस्थल कार्यालय भने बेखबर रहेको बताउँदै आएको छ।