काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पृथ्वी राजमार्ग र वीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन्।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र वीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका हुन्।
उनले यी दुवै राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको जानकारी समेत गराए। मन्त्री दाहालले अहिले वैकल्पिक सडकहरुबाट यातायात सूचारु गरिएको र त्यहाँ चल्ने सवारी साधनले केही बढी भाडा लिएको भए पनि आँखा चिम्लनु परेको समेत बताए।
मन्त्री दाहालले काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने आश्वासन समेत दिएका छन्।