धनुषा। लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना पुनः संचालनमा ल्याइने भएको छ।
२२ वर्षदेखि बन्द रहेको कम्पनी पुनः सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको हो।
कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरिएकाे छ। अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पुनः ब्युँताउन लागेको बताइएको छ।
उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ। समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ।

आगामी पुष २५ गते कम्पनीको साधारणसभा बोलाइएको छ। संचालक समितिको पुष २ गतेको बैठकले २०५६/०५७ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आव्हान गरेको छ।
साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने बताइएको छ।