काठमाडौं। वीपी राजमार्गको विकल्पमा महाभारत पर्यटन मार्ग बनाउन माग गरिएको छ। बागमती प्रदेशका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले वीपी राजमार्गको विकल्पको रुपमा महाभारत पर्यटन मार्ग बनाउनु जरुरी भइसकेको बताएका हुन्।
उनले काठमाडौं उपत्यकाबाट पूर्व जोड्ने विकल्पको रुपमा ललितपुर, काभ्रे, सिन्धुली, उदयपुर हुँदै चतरासम्म वैकल्पिक मार्गको रूपमा महाभारत पर्यटन मार्ग बनाउनुपर्ने बताए।
उनले उक्त मार्गका लागि अघिल्लो वर्षको नीति कार्यक्रममा योजना समावेश गरी बजेट विनियोजन गराउन तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष माग गरिएको भएपनि सुनुवाइ नभएको बताए।
त्यसपछिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई समेत आग्रह गरिएको भएपनि उनीहरूले यो मार्गको महत्व नबुझेको आरोप समेत लगाए।