काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को आज बस्ने बैठकबाट अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णय गरिने भएको छ। प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनः निर्माणबारे जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णयहरू गरिने जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरू अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको दाबी समेत गरे। उनले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिँदै फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने बताए।