काठमाडौं। भृकुटीमण्डप बजारका अधिकाशं व्यापारीहरुले काठमाडौं महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्दा व्यापारीहरुलाई व्यवस्थापन गरेर मात्रै निर्माण गर्न माग गरेका छन्। सोमबार भृकुटीमण्डपमा भएको निम्न व्यापारी संघको २७ औं वार्षिक साधरणसभामा सहभागी अधिकांश व्यापारीहरुले यो माग राखेका हुन्।
उनिहरुले अब यहाँका व्यापारीहरुलाई व्यापार गर्ने स्थायी संरचना निर्माण गरेर मात्रै प्रदर्शनी हल निर्माण गर्नु पर्ने माग गरेका छन्। विगत लामो समयदेखि भृकुटीमण्डपमा व्यापार गर्दै आएका एक व्यापारीका अनुसार ठूला ठूला प्रदर्शनी हल बन्नु राम्रो पक्ष हो। तर, यस स्थानमा निम्न बर्गीय मान्छेले व्यापार गरेर आफ्नो जिविकोपार्जन गर्दै आएको कुरा पनि ध्यान दिनु पर्ने उनको भनाइ छ।
सरकारले यस्ता खालका गुरुयोजना बनाउने तर काम नगर्ने व्यवसायीहरुको गुनासो छ। उनिहरु भन्छन् यो योजना पनि त्यस्तै हो। एक जना महिला व्यपारीका अनुसार भृकुटीमण्डप महिलामैंत्री बजार हो। यहाँ अधिकाशं महिलाहरु बच्चा च्यापेर व्यपार गरि रहेका छन्। यसरी १५ सय भन्दा बढीले रोजगार पाएको स्थानमा हल निर्माण गर्दा सरकारले यस स्थानका व्यपारीहरुलाई राम्रो व्यवस्थापन गरेर मात्र काम अगाडी बढाउनु पर्ने व्यपारीहरुले बताए।
भृकुटीमण्डपमा रहेको दुई सय १२ रोपनी क्षेत्रफलमा काठमाडौं महानगरपालिकालेअत्याधुनिक मेगा हल निर्माण गर्ने योजना बताएको छ। महानगरपालिकाले एक वर्ष पहिला नै मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ अत्याधुनिक मेगा हल निर्माणको योजना अघि बढाएको हो।