काठमाडौं। वीपी राजमार्गमा राति सवारी साधन चलाउन नपाइने भएको छ। सडक डिभिजन भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरेर बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जानकारी दिएको हो।
सूचनामा भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा राति सवारी नचलाउन भनेको उल्लेख गरिएको छ।
रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी मंगलबादेखि आवागमन खुलाइएको थियो।