काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढीपहिरोबाट क्षतिग्रस्त ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवलोकन गरेका छन्। गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षति पुर्याएको आयोजनाको मन्त्री खड्काले स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री खड्काले आयोजना छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब ८५ करोड ६ लाख ४७ हजार ९३० रुपैयाँ घाटा व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताए।